एचआइडीसीएल र एनआरएनएबीच लगानी समझदारी

काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा लगानी जुटाउन गैरआवासीय नेपाली संघले हाइड्रोइलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीलाई सघाउने भएको छ ।
त्यसका लागि लगानी सम्मेलनको मेसोमा एनआरएनए राष्ट्रिय परिषद् र एचआइडीसीएलबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले यो लामो गृहकार्यपछि सम्भव भएको बताए । ‘हामीले लामो समय छलफल र गृहकार्य गरेपछि एमओयुको चरणसम्म आउन सम्भव भएको हो,’ उनले भने, ‘यसले नेपालको आर्थिक विकासका गैरआवासीय नेपालीको सहभागिता सुनिश्चित गर्नेछ ।’
विदेशबाट पठाएको रेमिटान्स उत्पादनशील काममा सदुपयोग भएन, मुलुकले आर्थिक विकासमा गति लिएन भन्नेहरुलाई जवाफ दिँदै जलविद्युत आयोजनाहरु अघि बढाउन सहयोग हुने उनले बताए ।
ऊर्जाको क्षेत्रमा नेपाल विद्युत प्राधिकरण, प्रसारण र लगानी जुटाउने छुट्टाछुट्टै कम्पनीहरु भएको जानकारी दिँदै उनले लगानी जुटाउन सम्भव भए ऊर्जा उत्पादन बढाउन सरकारले विभिन्न योजनाहरु बनाएको जानकारी उनले दिए ।
‘जनहसभागिता बढाउन, तीन तहको सरकार, स्थानीयवासीसँगै सबैको सहभागिता सुनिश्चित गर्न जनताको जलविद्युतको अवधारणा ल्याइएको छ,’ उनले भने, ‘यसअन्तर्गत जगदुल्ला आयोजना सुरु हुन लागेको छ । त्यसको फाइनान्सियल क्लोज आगामी २३ गते हुँदैछ ।’
ऊर्जा आयोजनामा लगानी जुटाउने काममा एचआइडीसीएललाई सहज बनाउन सबैको योगदान आवश्यक रहेको उनले बताए । ‘जलविद्युत उत्पादनको क्षेत्रमा डेडिकेटेड कम्पनीहरु आवश्यक भएरै निर्माण, प्रसारण र लगानीका लागि छुट्टाछुट्टै कम्पनी बनाइएका हुन्,’ उनले भने, ‘नेपालको जलविद्युत क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । गैरआवासीय नेपालीको योगदानबाट यो अझ सबल हुनेछ ।’
लगानी गर्न सके विदेशमा बसेर देशको आर्थिक उन्नतिमा योगदान गर्दैछौं भन्ने आत्मसन्तुष्टि हुने उनले बताए ।

Spread the love