एनआरएनए र सगुन बिच सहकार्य गर्ने सहमति

असार १५, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा सामाजिक सञ्जाल कम्पनी ‘सगुन’ बीच आपसी सहकार्य गर्नेबारे सहमति भएको छ ।

दुबै पक्षको सहमतिमा भएको समझदारी र सहकार्यको समझदारीपत्रमा हस्ताक्षरले आउने दिनमा सम्बन्ध झन प्रभावकारी हुने बिश्वास छ । एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ ।

त्यस्तै, प्रवासमा रहेका नेपालीहरुद्वारा सुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन् । सगुन प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो सेयर गर्छन्, आफ्ना साथीहरुसँग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् । अहिले यो संजाल लोकप्रिय बन्दै गएको छ ।

 

Spread the love