काठमाडौ ।नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी एमआरपी सम्बन्धी निर्देशनका विरुद्धमा सरकारसँग औपचारिक ध्यानाकर्षण गराएको छ।
महासंघले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै हालको अवस्थामा एमआरपी प्रणाली सबै वस्तुमा लागू नगर्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा, संरचनात्मक पूर्वाधार अभाव, मौसमी तथा भौगोलिक चुनौती, तथा मुलुकको जटिल आर्थिक अवस्थाको उल्लेख गर्दै, एमआरपी प्रणालीको अव्यावहारिक पक्षप्रति चिन्ता व्यक्त गरिएको छ।
ज्ञापनपत्रमा कोभिड महामारीपछिको आर्थिक मन्दी, प्राकृतिक प्रकोप, खुला सिमानाबाट भइरहेको अनाधिकृत कारोबार, तथा युवावर्गको वैदेशिक पलायन जस्ता विषयउठाउँदै व्यवसायीहरूले झेल्नुपरेका समस्याहरूको समग्र मूल्यांकन नगरी निर्णय गर्नु व्यवसायीहरूप्रति अन्याय भएको उल्लेख छ।
महासंघले उद्योगी व्यवसायीहरूलाई मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र राजस्व संकलनको मेरुदण्डका रूपमा हेर्नुपर्नेमा जोड दिँदै, व्यवसायीको मनोबल घटाउने निर्णयहरूबाट सरकारले सचेत रहनुपर्ने आग्रह गरेको छ।