फागुन १७,काठमाडौं । एसएस फाउण्डेशनले दोलखा जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।
बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउण्डेशनले २१ सय झोला विभिन्न सामुदायिक विद्यालयहरुलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ पशुपति समशेर जबराले एसएस फाउण्डेशन सहयोग अब निरन्तर पिछडिएका जिल्लाहरुमा रहने बताउनु भयो । उहाँले यसरी सामाजिक कार्य गर्नाले विद्यार्धीहरुको मनोबल उच्च हुने र विद्यार्थीहरुको भविष्य सुरक्षित हुने बताउनु भयो ।
राजनीतिज्ञ जबराले भन्नुभयो, ‘एसएस फाउण्डेशनले अस्तिबाट महत्वपूर्ण कार्यक्रम आरम्भ गरेको छ । नेपालको विभिन्न पिछडिएका स्थानका विद्यार्थीहरुलाई नभइ नहुने, स्कुलको सामग्रीको रुपमा ब्याग दिने कार्यक्रम एसएस फाउण्डेशनले निरन्तर कायम गर्ने गरेर चलाएको छ । एसएस फाउण्डेशनलाई धन्यवाद दिन्छु र भविष्यका कर्णधार विद्यार्थीहरुले राम्रो शिक्षा पाउन् भन्ने चाहन्छु ।’

फाउण्डेशनले दोलखा जिल्लाका विभिन्न ८ वटा सरकारी तथा सार्वजनिक विद्यालयहरुलाई २१ सय झोला हस्तान्तरण गरेको छ । फाउण्डेशनले यो सहयोगको अभियान विभिन्न विकट जिल्लाका विद्यालयमा सञ्चालन गरिरहने पनि जनाएको छ ।
