भारतीय विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् । उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए । मन्त्री खट्टरले अरुण–३ जलविद्युत आयोजनाको अवलोकन गर्नेछन् ।
भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षण गर्न मन्त्री खट्टर नेपाल आएका हुन् । आयोजनाको अवलोकन गरी खट्टर बुधबार स्वदेश फर्किने छन् । साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरुण–३ को अवलोकन गर्न पुग्ने बताइएको छ ।
उक्त कार्यक्रममा एसजेवीएनका अध्यक्ष राजकुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ ।
विशेष गरी ऊर्जा मन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आएका हुन् । खट्टरले मन्त्री खड्कासँग अन्य जलविद्युत् आयोजनामा भारतीय लगानी साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्य तालिका छ ।
