काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ । आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गर्नुभएको हो । मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएपनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो । मेलम्ची खानेपानीको पुनः वितरण सुरु भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानी पुनः वितरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दिर्घकालिन सञ्चालनको लागि एसियाली बिकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण र त्यसको कारण र स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरेकाले प्रतिवेदन तयार भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताउनुभयो । उहाँले वर्षा याममा मेलम्ची नदीमा बाढी आएमा पूर्व सुचना दिनका लागि अर्ली एलर्ट मेसिन जडान गरिएको बताउनुभयो

मन्त्री चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गर्नुभएको छ । ओलीले वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै उहाँले ओलीलाई मेलम्चीको शुद्ध पानी शुद्ध छ कि अशुद्ध छ अनुभव लिनका लागि पिउन आग्रह गर्नुभएको हो ।

उहाँले खानेपानीको नाममा राजनीति नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह समेत गर्नुभएको छ । मन्त्री चौधरीले वर्षाको पानी संकलन, जलाधार संरक्षण गरी पानीको मुल फुटाउ अभियान र पानीको गुणस्तर परिक्षण अभियान सञ्चालन गर्न मन्त्रालयले कार्ययोजना तयार गरी अघि बढ्ने नीति लिएको स्पष्ट पार्नुभयो ।

Spread the love