काठमाडौं महानगरपालिकाले १५० भन्दा बढी सम्पदाहरुको पुनर्निर्माण गरेको दाबी

काठमाडौं महानगरपालिकाले १५० भन्दा बढी सम्पदाहरुको पुनर्निर्माण गरेको बताएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफु २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित भइ आएपछि हालसम्म १५० भन्दा बढी सम्पदाहरुको पुनर्निर्माण भएको बताउनुभएको हो । उहाँले काष्ठमण्डप, कमलपोखरी, दरबार स्कुल, विभिन्न वडामा रहेका ऐतिहासिक बाहाः बही, मठमन्दिर, चैत्य, विहार, गुठिघर, द्यःछें लगायतका १५० भन्दा बढी सम्पदाहरुको पुनर्निर्माण भएको जानकारी दिनुभयो । उहाँले उपत्यका भित्रका अन्य नगरपालिका क्षेत्रभित्रका सम्पदाहरुको पुनर्निर्माणमा पनि महानगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । प्रमुख शाक्यले राष्ट्रिय सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत उपत्यका बाहिरका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुको विकास तथा संरक्षणमा समेत सहकार्य र साझेदारी गर्दै आएको बताउनुभयो ।
उपत्यका बाहिर लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकास लगायतका कामहरु भएको उहाँले उल्लेख गर्नुभयो । प्रमुख शाक्यले महानगरपालिका भित्रको कला, संस्कृति, सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि हरेक वर्ष १०० करोड रुपैयाँ भन्दा बढी बजेट छुट्याउने गरिएको जानकारी दिनुभयो ।

Spread the love