काठमाडौं महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरुको गुनासो

भूमिहीनहरुले काठमाडौं महानगरपालिकाले आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन् । विश्व सामाजिक न्याय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरुको बस्तीमा डोजर आतंक फैल्याएर काठमाडौं महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका आफूहरुलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झनै उठिबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले आफूहरुमाथि अन्याय नगर्न पनि काठमाडौं महानगरपालिका र संघीय सरकारलाई आग्रह गर्नु भयो । गरिवको पक्षमा सबै तहका सरकारले काम गर्नुपर्नेमा दुःख दिएको उहाँको दुखेसो थियो ।

यता, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले भने भूमिहीनहरुको समस्या समाधानका लागि आफूहरु सम्बन्धित पक्षसँग सहकार्य गरेर अघि बढन लागि परेको दावी गर्नु भयो । उहाँले त्यसका लागि ठोस योजना ल्याउन स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । विकास आयुक्त प्याकुरेलले काठमाडौं उपत्यका भित्र सामाजिक न्याय स्थापित हुने गरी पीडितहरुको माग सम्बोधन गराउने काममा आफूहरुले काम काम गरिरहेको पनि बताउनु भयो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको पनि विकास आयुक्त प्याकुरेलले बताउनु भयो ।

Spread the love