काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले मलेसियामा हुन लागेको सिन्डिकेटको विराध जनाएको छ ।आइतबार काठमाडौँमा गणतान्त्रिक मञ्चले कालो पट्टी निधारमा बाँधेर बैठक गर्दै विरोध जनाएको हो । सिन्डिकेटधारी होसियार लेखिएको कालोपट्टी निधारमा बाँधेर गणतान्त्रिक मञ्चले बैठक गरेको हो । गणतान्त्रिक मंचले मलेसियामा रोजगारका लागि सिन्डिकेटधारीहरुले चलखेल गरिरहेको भन्दै विरोध जनाउदै आएको छ । मंचका अध्यक्ष धनलाल जैसीको अध्यक्षतामा बसेको गणतान्त्रिक मञ्चको बैठकले मलेसियाका साथै युनाइटेड अरब इमिरेट्स्, साउदी अरव लगायतका देसमा हुन सक्ने सिन्डिकेटको क्रमबद्ध विरोध गर्ने निर्णय पनि गरेको हो ।
मलेसियाको सिन्डिकेटमा मञ्चका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी दिल प्रसाद पोखरेलको समेत नाम आएको सन्दर्भमा स्पष्टीकरणका लागि दिल प्रसाद पोखरेललाई समेत आमन्त्रण गरेको थियो । पूर्व अध्यक्ष दिल प्रसाद पोखरेलले मलेसिया सिन्डिकेटधारीहरुले मंजुरी विना आफ्नो नाम राखेको र आफू सिन्डिकेटको पक्षमा नरहेको प्रष्ट पारेको एक सदस्यले बताए । पोखरेलले सिन्डिकेटको विरुद्ध आफू एक्लै पनि लड्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
पछिल्लो समय केही सिमित व्यवसायीहरुले मलेसियामा कामदार पठोउनका लागि सिन्डिकेटको चलखेल गरेको र सिन्डिकेटका लागि भनी उल्लेख्य रुपमा रकम माग गरेको हल्ला चलेपछि विभिन्न संघ संस्थाहरुले विरोध जनाउदै आएका छन् । कानुनले कुनै पनि प्रकारका सिन्डिकेटहरु निषेध गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले समेत कुनै पनि प्रकारको सिन्डिकेट हुन नदिने जनाएको छ ।
ताजा अपडेटले कानुन विपरित सिन्डकेटको प्रसास गर्नेहरुको पहिचान गरी जनतामाझ ल्याउने प्रयास गरिरहेको छ ।