गाजामाथि इजरायलको आक्रमण तिव्रः १८ हजार बढी मारिए

काठमाडौं । इजरायलले गाजा पट्टीको आक्रमणलाई तिव्रता दिएको बताएको छ ।
इजरायलले गाजाको सिमानामा आक्रमण गर्दा त्यहाँ बसोबास गर्ने धेरै परिवारको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा १८ हजार ६०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्भे रिसर्चले गरेको सर्वेक्षणले जनतामा हमासलाई समर्थन भने बढ्दै गएको देखाएको छ ।
त्यस्तै, गाजाको दक्षिणी किनारमा अस्थायी पालमा बसेका महिला र पुरुषहरू रफाहको शवगृहमा रोइरहेको भिडियो सार्वजनिक भएका छन ।
बुधबार राति भएको हवाई हमलामा मारिएकाहरुको शव रगतले लतपतिएको कफनमा बेरिएको छ । त्यसमा केही साना बालबालिका पनि परेका थिए ।
इजरायली सुरक्षा मन्त्रिपरिषद्ले आक्रमणहरू अमानविय भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइलाई अस्वीकार गरेको छ । बाइडेनले अन्धाधुन्ध बमबारी नगर्न इजरायललाई आग्रह गरेका थिए ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तिमसम्म युद्ध जारी राख्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि आफूलाई कसैले रोक्न नसक्ने हमासका आतंककारीहरूलाई समाप्त पार्ने योजनाबाट पछि नहट्ने बताएका छन् ।

Spread the love