जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि विस्तार

काठमाडौं । जनकपुरधाम–जयनगर रेल सेवा आज (आइतबार) देखि विस्तार भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो ।
जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्न नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जाने कार्यक्रम रहेको छ । मन्त्री ज्वालाले आज बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उदघाटन गर्ने कार्यक्रम छ ।
महोत्तरीको विजलपुराबाट बिहान ७ः३० बजे रेल जयनगरका लागि चल्नेछ । जयनगर हुँदै जनकपुरधामबाट साँझमा विजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ । यसअघि न्यारोगेज रेल्वे विजलपुरासम्म सञ्चालनमा थियो । अहिले जनकपुरधामदेखि जयनगरसम्म ३४ किलो मिटरमा रेलले सेवा दिइरहेको छ । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछ ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो । ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि संचालनमा आएको थियो । सुरुमा एकपटक जनकपुरदेखि जयनगर जाने र आउने सेवा दिँदै आएकोक रेल गत वर्ष मंसिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ ।

Spread the love