जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

माघ ६ ,काठमाडौं । सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहीवार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमन टोलीले बानेश्वर क्षेत्रमा सञ्चालित विभिन्न प्रकारका पसलहरु, होटल, रेष्टुरेन्ट, सपिङ मल लगायत सार्वजनिक सवारी साधनमा समेत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, मास्क सेनिटाइजर नराखिएको पाइएकाले बढी यात्रु नराख्न, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न र सवारी साधनलाई निसंक्रमित पार्नका लागि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । सडकमा मास्क नलगाइ हिडिरहेका र मास्क नलगाई पसलमा बसिरहेका ८ जनालाई प्रतिव्यक्ति एक सय रुपैँया जरिवाना गरिएको पनि उहाँले जानकारी दिनुभयो । अनुगमनका क्रममा मानिसहरु पहिलेको तुलनामा कमै मात्र बाहिर निस्किएको पाइएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई निरन्तरता दिने जनाएको छ । कोभिड – १९ को तेस्रो लहरलाई कम गराउन र जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रशासन लागि परेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

Spread the love