काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले जलविद्युत क्षेत्रको दिगो विकासका लागि वन तथा वातावरण मन्त्रालय निरन्तर प्रतिबद्ध रहँदै आएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३ औं बार्षिक साधारण सभामा उनले जलविद्युत क्षेत्र नेपालको महत्वपूर्ण मेरुदण्डको रुपमा रहेको भन्दै यसलाई मूर्त रुप दिने सन्दर्भमा वन तथा वातावरण मन्त्रालय आफ्नो भूमिकालाई जिम्मेवारी पूर्वक निर्वाह गर्दै आइरहेको बताए।
यस्तै, उनले जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने वन क्षेत्र हस्तान्तरण तथा प्रयोग र स्वीकृतिमा नेपाल सरकारले प्रभावकारिता अपनाउँदै आइरहेको पनि बताए ।
सोही कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले मन्त्रालय प्रष्ट उद्देश्यका साथ अगाडि बढेको भन्दैमार्ग चित्रमा उल्लेख भए अनुसार काम गरिरहेको बताए ।
साथै, उनले अहिले नेपालको समृद्धिका लागि उर्जा क्षेत्र पहिलो प्राथमिकतामा रहेको भन्दै अबको १० वर्षमा २८ हजार ५ सय मेघावाट पु¥याउने उद्देश्य लिएर सरकार अगाडि बढेको बताए ।