ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न पर्यटन व्यवसायीहरुको सरकारसग माग

पर्यटन व्यवसायीहरुले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरुले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन् । उनीहरुले नेपालमाभर पर्यटकको लागि आवश्यक सेवासुविधा ठमेलमा नै रहेको भन्दै नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताए । ठमेल पर्यटन परिषद्का अध्यक्ष भविश्वर शर्माले नेपालको पहिलो पर्यटकीय नगरी ठमेल भएकाले सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताउनु भयो । उहाँले ९९ प्रतिशत पर्यटन व्यवसायी ठमेलमा नै रहेकाले नेपालमा आउने ८० प्रतिशत पर्यटकहरु ठमेलमा पुग्ने गरेको बताउनु भयो । उहाँले काठमाडौं महानगरले स्थानीय निर्वाचनपछि सार्वजनिक शौचालय घोषणा अभियान गरेपनि कार्यान्वयन नभएको भन्दै ठमेलमा सरकारले कम्तिमा ४ वटा सार्वजनिक शौचालय बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सार्वजनिक शौचालय नहुँदा ठमेलमा पर्यटकहरु आउन नमान्ने गरेको समेत गुनासो गर्नुभयो । शर्माले ठमेलमा पर्यटक आगमन बढाउनको लागि सडक कालोपत्र,शान्ति सुरक्षा व्यवस्थित बनाउनु पर्नेमा जोड दिनुभयो ।
अध्यक्ष शर्माले पर्यटक आकर्षण बढाउनको लागि ठमेललाई ब्युटिफिकेशन गर्ने काम शुरु गरिएको बताउनु भयो । उहाँले कोरोना महामारीपछि सिथिल बनेको पर्यटन क्षेत्र बिस्तारै लयमा आउन थालेको बताउनु भयो । उहाँले ठमेल क्षेत्र कारोना महामारीको कारण ९९ प्रतिशत थला परेको व्यवसाय लयमा आउन थालेको बताउनु भयो । उहाँले अहिले ठमेलका होटलहरुमा ६० प्रतिशत बढी पर्यटकहरु रहेको बताउनु भयो । अध्यक्ष शर्माले एक महिनादेखि जारी ठमेलको तार व्यवस्थापन अभियानमा शनिवारसम्म ४५ टिपर तार व्यवस्थापन गरिएको बताउनु भयो । उहाँले अहिले ठमेलको ८५ प्रतिशत तार व्यवस्थापन भएको र १५ प्रतिशत तार व्यवस्थापन गर्न बाँकी रहेको बताउनु भयो । ठमेलका हरेक गल्लीहरुमा बत्ति जडान गर्ने र सिसिक्यामारा जडान गर्ने तयारी रहेको पनि बताउनु भयो ।
त्यस्तै,ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बाँस्तोलाले कोरोना महामारी भन्दा पछिल्लो समय नेपालमा पर्यटन आगमनमा वृद्धि भएको बताउनु भयो । उहाँले सन् २०१९ मा भित्रिएका पर्यटकको हाराहारीमा २०२३ भित्र नै पुग्ने अपेक्षा व्यवसायीहरुको बताउनु भयो ।
उहाँले पर्यटक नेपालमा ल्याउनको लागि सरकारले डिजिटल प्रविधि अनुसार मार्केटिङमा जोडदार रुपमा सहजिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले सन् २०१९ मा आउने पर्यटकको रेसियो २०२३ मा पुर्‍याउनको लागि निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो ।

Spread the love