डोनाल्ड ट्रम्पले गरे उच्च सैनिक अधिकारीलाई पदमुक्त

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च सैनिक अधिकारीलाई पदमुक्त गरेका छन्। शुक्रबार ट्रम्पले जोइन्ट चिफ्स अफ स्टाफका प्रमुख जनरल चाल्र्स सीक्यूब्राउनलाई पदमुक्त गरेका हुन् । डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् — जनरल चाल्र्स सीक्यूब्राउनलाई ४० वर्षभन्दा बढी समयसम्म देशका लागि गरेको सेवाका लागि म धन्यवाद दिन चाहन्छु, । जनरल ब्राउन यो पद सम्हाल्ने दोस्रो अश्वेत व्यक्ति थिए । जोइन्ट चिफ्स अफ स्टाफका प्रमुखले राष्ट्रपतिका साथै रक्षामन्त्रीलाई राष्ट्रिय सुरक्षा सम्बन्धी सल्लाह दिने कार्य गर्दै आएका थिए । जनरल चाल्र्स सीक्यूब्राउनकोे कार्यकाल सन् २०२७ सम्मरहेको थियो । राष्ट्रपति ट्रम्पले गत महिना पद सम्हालेपछि पहिलो निर्णयका रुपमा महिला कोस्ट गार्ड प्रमुखलाई हटाएका थिए । शुक्रबार नै चिफअफ नेभल अपरेसन एडमिरल लिसाफ्रान्चेटी र एयरफोर्सका उपप्रमुख जनरल जिम स्लाइफ पनि हटाइएका छन् ।
राष्ट्रपति ट्रम्पले जोइन्ट चिफ्स अफ स्टाफका नयाँ प्रमुखका रूपमा एयरफोर्सका लेफ्टिनेन्ट जनरल ड्यान केनलाई मनोनयन गर्ने बताएका छन् । लेफ्टिनेन्ट जनरल ड्यान केन सीआईएको सैन्य मामिला सम्बन्धी एसोसिएट डाइरेक्टरका रूपमा कार्यरत थिए ।

Spread the love