तिब्बतको ल्हासादेखि निङ्ची शहरसम्म रेल चल्यो

असार ११, काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरू भएको छ । आज शुक्रबार सबेरै रेल सेवा शुरु भएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

चाइना नेशनल रेलवे कर्पोरेसनका अनुसार फुक्सिङ बुलेट ट्रेनको शुक्रबार बिहान उद्घाटन गरिएको छ । उक्त रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्नेछ । रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने १२१ वटा पुलहरू निर्माण गरिएका छन् । ल्हासा–निङ्चीको ४३५ किलोमिटर दूरी पार गर्न रेललाई ३ घन्टा २९ मिनेट लाग्ने ग्लोबल टाइम्सले जनाएको छ ।

रेलमार्गको ९० प्रतिशत भाग समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा रहेको छ । यो रेलमार्ग बनाउने काम सन् २०१४ मा सुरू भएको थियो । ४.८ अर्ब डलर लगानीमा सन् २०२० को अन्त्यमा निर्माण सकिएको रेलमार्गमा केही दिनअघि परीक्षण गरिएको थियो ।

चीनमा जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सयौं वार्षिकोत्सव मनाइँदैछ । त्यसको एक साताअघि स्वशासित क्षेत्र तिब्बतमा विद्युतीय रेलको उद्घाटन गरिएको हो ।

निङ्ची सहर भारतको अरूणाञ्चल प्रदेशदेखि नजिकै रहेको छ । अरूणाञ्चलबारे भारत र चीनबीच विवाद छ । यो सिमाना नजिक नै चीनले रेल पुर्याइदिएको हो ।

(स्रोतः चिनियाँ संचारमाध्यम)

Spread the love