तिला नदीले बगाएर ल्याएको रतुवा उद्दार, वन कार्यालयलाई जिम्मा लगाइयो

मुगु ।जुम्ला जिल्लाको तिला गाउँपालिका ३, कुडारी स्थित तिलानदीले बगाएर ल्याएको जंगली जनावर रतुवाको सफल उद्दार गरि डिभिजन वनकार्यालय जुम्लालाई जिम्मा लगाइएको छ ।
शुक्रबार अपराह्न ५ः५० बजे सो जनावरलाई कुडारी निवासी मुन प्रसाद भट्टराईले आफ्नै घर नजिकको तिला नदी किनारमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी चौकी कुडारीबाट प्रहरी निरीक्षक उत्तम कुमार बोहराको कमाण्डमा तीन जनाको टोली खटिएको थियो।
टोलीले जंगली जनावरलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर तातोपानी गाउँपालिका अन्तर्गत सव–डिभिजन वनकार्यालयका वन अधिकृत रविन्द्र कुमार अधिकारीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ।
उक्त स्थान प्रहरी चौकी कुडारीबाट करिब एक किलोमिटर पश्चिममा पर्ने बताइएको छ। उद्दार गरिएको जनावरलाई प्राकृतिक वासस्थानमा पुनःस्थापित गरिने वन कार्यालयले जनाएको छ।
स्थानीय वासीले प्रहरी र वन कार्यालयको समन्वयमा गरिएको चाँडो र प्रभावकारी कार्यप्रति प्रशंसा व्यक्त गरेका छन्।

Spread the love