तिहार अगाडि नै भत्किएका सडक मर्मत सक्छौँ ः मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले, तिहार अघि नै भत्किएका सडकको मर्मत सम्भार सक्ने दाबी गरेका छन् ।
प्रतिनिधि सभा अन्र्तगतको पूर्वाधार विकास समिति बैठकमा उनले दशैँसम्म ५० प्रतिशत भन्दा बढि सडक मर्मत सम्भारको काम सम्पन्न भएको र तिहारसम्म सम्पूर्ण काम सक्ने बताएका हुन् ।
यस्तै, दशैँमा भाडालगायतका विषयमा अघिल्लो वर्षमा जस्तो समस्या नदेखिएको उनको दाबी छ ।
चर्को भाडा असुल्ने, दोहोरो टिकट काट्ने, सिट नदिनेलगायतका यसअघिका गुनासो यस पटक नआएको मन्त्री ज्वालाको भनाई छ ।
त्यस्तै उनले दशैँ केन्द्रित गरेर १६ वटा नागरिक साझा कक्ष स्थापना गरेर समस्या समाधानको कोसिस गरिएको बताए ।
त्यस्तै उनले तिहार र छठलाई लक्षित गरेर यातायात व्यवस्थित गर्न आवश्यक तयारी गरिएको पनि बताए ।
‘दशैँ, तिहार र छठ जस्तो पर्वलाई लक्षित गरेर सडक पूर्वाधारलाई सहज बनाउँने र यातायात व्यवस्थालाई व्यवस्थित गर्ने कुरामा केन्द्रीत भएर बैठक पनि बसेका छौँ । ४५० किलो मिटर जुन राजमार्गहरु छन्, तिनीहरुको स्तरउन्नतीको काम पनि भईरहेको छ । सार्वजनिक सवारी साधनहरुलाई कसरी व्यवस्थित गर्ने र यातायात व्यवस्थापनलाई सहज बनाउँने हिसाबमा कामहरु पनि अगाडि बढाएका छौ ।’ उनले भने ।

Spread the love