काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको बताएका हुन् ।
राष्ट्रपति पौडेलले भने, ‘संसारको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि अनि कहिल्यै पराधीन नभएको स्वाधीन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ ।’
राष्ट्रपति पौडेलले नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठान कै भएको बताउँदै प्रज्ञा प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक वहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले भने, ‘साहित्य र समाज एक अर्काका पूरक हुन् । यो ज्ञान, संस्कार, संस्कृति र जीवन हो । यसले दिने शिक्षा, सन्देश, चेतना, विचार र विवेचना अपरिमित छ । त्यसैले हरेक मानिसको जीवनमा भाषा, साहित्य, संस्कृति, दर्शन अत्यावश्यक छ ।’