नदि उकास क्षेत्रको जमिन अतिक्रमण गरी खेती तथा झुपडी

रौतहट । रौतहटमा बागमती नदि उकास क्षेत्रको जमिन अतिक्रमण गरी गाँउलेहरुले खेती तथा झुपडी बनाएर उपयोग गरेको पाइएको छ ।
रौतहट र सर्लाहीको सिमानामा पर्ने बागमती नदिको किनारमा रहेको सो क्षेत्र डिभिजन वन कार्यालयको हो । तर वन कार्यालयको उदासिनताका कारण वृन्दावन नगरपालिका वडा नं. १ मा रहेको नदि उकास क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको छ ।
पछिल्लो समयमा जङ्गल तथा झाडी फाँडेर धमाधम खेत र झुपडी बनाउने गरिएको पाइएको छ । हरेक वर्ष प्रायः त्यस क्षेत्रमा वृक्षारोपण हुने गरेको भएपनि बिरुवा हुर्किने गरेको छैन् ।
बयरघारीका रुपमा परिचित सो क्षेत्र अहिले त्यस भेगका गाँउहरुको खेत र झुपडी मात्र देखिन्छ । वृन्दावन नगरपालिका वडा नं. १, २, ३ र ४ का बासिन्दाहरूले सो क्षेत्रमा अतिक्रमण गरेको पाइएको छ । बिपन्न तथा गरिव समुदायमा मात्र नभई प्राय ः सबैले त्यस क्षेत्रमा वर्षौ देखि खेती गर्दै आएका छन् ।
वृन्दावन नगरपालिका वडा नं. ३ विश्रामपुरका हरि साह कलवार पनि वन तथा नदी उकास जमिन अतिक्रमण गरी उपयोग गर्नुभएको छ । सो क्षेत्रमा रहेको करिव १० कट्ठा जमिन तारबार गरेर खेती गर्दै आएको साहले जानकारी दिए ।
उपयोग विहीन भएको यस जमिनलाई आफूले सदुपयोग गरी खेती गरेको साहको भनाई छ । साह मात्र नभई त्यस क्षेत्रमा प्रशस्त मात्र स्थानीयले कृषि तथा पशु फर्म ने सञ्चालन गरेका छन् ।
सबैले डिभिजन वन कार्यालय अन्तर्गत पर्ने नदि उकास क्षेत्रको जमिन अतिक्रमण गरेको देखिन्छ । खरका छानो भएका झुपडी घरहरू बन्ने क्रम बढ्दो अवस्थामा रहेकाले उत क्षेत्र अतिक्रमणको चपेटामा परेको स्थानीय सरोकारवालाहरू बताउँछन् ।
अन्य स्थानमा घर तथा जमिन भएका व्यक्तिहरूले नै तारबार गरेर जमिन उपभोग गर्दै आएको उनीहरूको भनाई छ । उक्त अतिक्रमित क्षेत्रमा मकै, गहुँ, मुसुरो, तोरी लगायतको खेती हुने गरेको छ । त्यस क्षेत्रमा व्यवसायिक रुपमा मकै खेती हुने गरेको छ भने सिँचाइको लागि बोर्डिङको पनि ब्यवस्था छ । सरकारी जमिन अतिक्रमणको चपेटामा हुँदा पनि यस तर्फ कुनै निकायले ध्यान नदिएको स्थानीय सरोकारवालाहरू बताउँछन । उक्त अतिक्रमित क्षेत्र भन्दा करिब २ किलोमिटरको दूरीमा सब डिभिजन वन कार्यालय बल्लेरी पर्दछ । अतिक्रमण गरी खेती गरिएको जमिनमा वन कर्मचारीहरू नजाने र अतिक्रमण हटाउन कुनै चासो नदिने गरेको वृन्दावन नगरपालिका वाड नं. २ का वडा अध्यक्ष सिकेन्द्र पटेलको आरोप छ ।
बन क्षेत्रको जमिन फडानी गरेर किनबेच हुनु दुखद भएको भन्दै यस्ता किसिमका कार्य तत्काल रोक्नु पर्ने उनले माग गरे । डिभिजन वन कार्यालयको दोहोरो नीति र निष्क्रियताको कारण वन क्षेत्र अतिक्रमण बढेको भन्दै उनले चिन्ता व्यतm गरे । वन सुरक्षाकर्मी सहितको जनशक्ति अभाव रहेकाले अतिक्रमण भएको क्षेत्रमा जान नसकिएको सब डिभिजन प्रमुख अनिल कुमार महतोले गुनासो गरे । अतिक्रमित जमिन हटाउनका लागि सरोकारवाला निकायको साथ र सहयोग आवश्यक पर्ने उनको धारणा छ । डिभिजन वन कार्यालय रौतहटका शैलेन्द्र मिश्रले सो क्षेत्रको अतिक्रमण हटाउन सक्रिय रहेको बताउनुभयो । केही बर्ष अघि देखी शुरु भएको सो अतिक्रमण क्षेत्र हटाउने अभियान नै चलाउने र यसका लागि तिनै तहका सरकारसँग समन्वय गरिने उनले बताए । जिल्लाको कूल क्षेत्रफल १,१२,६०० हेक्टर रहेको छ, जसमध्ये २९४०२.९८ हेक्टर वा २६.११% भूभाग वन क्षेत्रले ढाकेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

Spread the love