नारायणघाट-बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको चेतावनी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नारायणघाट-बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिनुभएको छ । बुधवार प्रतिनधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नारायणघाट-बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै एक पटक पुनःनिर्देशन गर्ने र नमाने ठेक्का रद्ध गर्ने चेतावनी दिनुभएको हो । उहाँले आयोजनाको ठेक्का रद्ध गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि उपलब्धीमुलक निर्माण हुन नसके ठेक्का तोड्ने बताउनु भयो । मन्त्री राईले सडक विभागका महानिर्देशक र सचिवलाई सांसदहरुले चासो राखेर जिज्ञासा गरेका आयोजनाको तत्काल समाधान गर्नपनि निर्देशन दिनुभयो । उहाँले काठमाडौं उपत्यका लगायत मन्त्रालयको क्षेत्राधिकार भित्रपर्ने कुनैपनि सडक मर्मतका समस्या समाधानका लागि मन्त्रालय तत्पर रहेको बताउनु भयो ।
त्यस्तै समितिमा नेकपा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले पछिल्लो समय मापदण्ड बिना सहायक राजमार्ग निर्माण गर्ने कार्यले सडकमा पहिरो तथा सडकलाई क्षतविक्षत बनाउने काम गरेको बताउनु भयो । उहाँले सरकारले सडक निर्माणको मापदण्डलाई कडाईका साथ लागू गर्नुपर्ने बताउनु भयो । अर्यालले मुख्य राजमार्गलाई असर नपर्ने गरी सहायक राजमार्ग बनाउन नपाउने मापदण्ड राख्न सुझाव दिनुभयो । उहाँले विकासे मन्त्रालयहरु बीचमा विकास निर्माणको काम गर्दा अन्तरसंवाद आवश्यक देखिएको बताउनु भयो । अर्यालले अहिले एउटा मन्त्रालयले भत्काउने अर्काले बनाउने काम गर्दा सडकदेखि विकास निर्माणको काम समयमा नै सम्पन्न नभएको बताउनु भयो ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले काठमाडौं उपत्यकामा १० पटक कालोपत्रे हुने तर कणर्ालीका जनताले कालोपत्रे नै देख्न नपाउने अवस्था रहेको गुनासो गर्नुभयो । उहाँले कणर्ालीलाई बुटवल सडकले बढी सताउने गरेको बताउनु भयो । नारायणघाट-बुटवल सडकमा विश्व बैंक,एशियाली विकास बैंक,एमसीसी र नेपाल सरकारको पैसा खन्याउने र कणर्ालीका जनता हेरेर मात्रै बस्ने अवस्था रहेको बताउनु भयो । उहाँले सडक, पुल निर्माण गर्दा डिपिआर गरी सडक निर्माण गर्ने जिम्मा स्थानीय तहलाई दिँदा राम्रो हुने बताउनु भयो ।
त्यस्तै, नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले राजनीतिक दलका नेतालाई चुनाव नलागेको बेला सडक विभागलाई चुनाव लागेको आरोप लगाउनु भयो । उहाँले सत्तापक्षका सांसद र प्रधानमन्त्रीले भनेका काम मात्रै गर्नु भन्ने निर्देशन सडक विभागलाई भएको हो ? भन्दै प्रश्न गर्नुभयो । सांसद सुनुवारले साँघुटार-ओखलढुङ्गा सडकको कालो पत्रे प्रधानमन्त्री निकट पार्टीको ठेकेदारसँग छलफल राख्न विभागलाई आग्रह गर्दा समेत अहिलेसम्म वास्ता नगरेको गुनासो गर्नुभयो । उहाँले विभागलाई ठेकेदारले पैसा दिएर बोल्न बन्द गरेको हो भन्दै प्रश्न गर्नुभयो ।
त्यस्तै नेकपा एमालेकै सांसद विद्या भट्टराईले सधैँ विकास निर्माणका काम गर्दा अन्तरनिकाय समन्वय भनेर बस्ने भन्दा पनि कसरी समन्वय गर्न सकिन्छ भनेर छलफल गर्न आवश्यक रहेको बताउनु भयो ।
सांसद भट्टराईले अहिले राज्यका तीन वटै तह निर्देशन मात्रै दिने भएको बताउनु भयो । उहाँले निर्देशन गर्ने तर निर्देशन पालना भए/नभएको हेर्ने काम नभएको बताउनु भयो । उहाँले आफ्ना मान्छे सम्बन्धित निकायमा हुँदा सरकारले कारबाही गर्न नसकेको बताउनु भयो ।

Spread the love