निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी ट्राफिक प्रहरीको कारवाहीमा

पछिल्लो १२ दिनमा निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी ट्राफिक प्रहरीको कारवाहीमा परेका छन । भदौ तीन गतेबाट आजसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुखजिल्ला अधिकारी सहितको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवा क्षेत्र बाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरुलाई होल्डमा राखेर कारवाही गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकालले बताउनुभयो । सुरुका दिनभन्दा पछिल्लो समय नागरिक सचेतना बढेकाले अनावश्यक बाहिर निस्किनेहरुको संख्या कम रहेको उहाँले बताउनुभयो ।

सर्वसाधारणले निषेधाज्ञा पालना गरिरहेको उहाँले बताउनुभयो । जोखिम बढेसँगै नागरिकहरुमा सचेतना बढेको छ भने ट्राफिक प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ । प्रशासनले स्वास्थ्य, सुरक्षा, सञ्चारमाध्यम, खाद्यान्न, तरकारी, फलफुल खानेपानी, दुध, इन्धन, ग्यास लगायतका सवारीलाई निर्वाध रुपमा सञ्चालन हुन दिएको छ । सुरुमा एक साताका लागि निषेधाज्ञा जारी भएपनि संक्रमण बढ्ने क्रम नरोकिएपछि थप एक साता निषेधाज्ञा थप भएको छ ।

Spread the love