नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुन्छ : कृष्णप्रसाद दुलाल

भदौ २८ ,काठमाडौं ।सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी तथा उद्योगीहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।

बजेट प्रतिस्थापन विधेयक साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएको भन्दै उनीहरुले सकारात्मक रहेको प्रतिक्रिया दिनु भएको हो । अटोमोबाइल्स डिलर्स एसोशिएन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुने बताउनुभयो ।

अध्यक्ष दुलालले २०७८/०७९ को प्रतिस्थापन बजेटमा स्वागत योग्य रहेको बताउँदै उहाँले अब नेपालमा अटोमोबाइल उद्योगहरुको उदय हुने बताउनुभएको हो । उहाँले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिस्थापन बजेटमार्फत् एसेम्बल गरी नेपालमा सवारी साधन उत्पाादन गर्ने अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३, ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्नुभएको भन्दै यो नेपालमा एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने बताउनुभयो ।

अध्यक्ष दुलालले कोरोनाको यस्तो बेलामा वर्तमान सरकारले मोटरसाइकलको सेगमेण्टमा भइरहने परिवर्तनले पयोगकर्तालाई थप आर्थिक भार परेको भन्दै सरकारले गत वर्ष कायम गरेकै सेगमेण्टलाई कायम गर्न आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएकोले प्रतिस्थापन विधेयक स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले प्रतिस्थापन विधेयकले आन्तरिक उत्पादनलाई पनि प्राथमिकता दिएको बताउनुभयो ।

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले प्रतिस्थापन विधेयकले ठूला लगानीहरुमा प्रोत्साहन गर्ने किसिमको बजेट आएको बताउनुभयो । उहाँले प्रतिस्थापन बजेटले शुन्य रहेको व्यवसायलाई केही गर्न सकिन्छ कि भन्ने आशा जगाएको बताउनुभयो । प्रथम उपाध्यक्ष शाहले सरकारले यसलाई समयमै लागू गर्ने आश कमै मात्र रहेको बतानउभयो ।

प्रथम उपाध्यक्ष शाहले बजेटमा राम्रो कार्यक्रमहरु आएपनि कार्यान्वयनमा समस्या भइरहेको भन्दै सरकारले कार्यान्वयनमा ढिलाइ गर्नु नहुने बताउनुभयो ।

Spread the love