नेपालमा प्रत्येक एक लाखमा ३ हजार जनालाई पक्षघात ः अध्यक्ष,डाक्टर पौडेल

काठमाडौं । नेपाल पक्षघात संघका अध्यक्ष डा.राजु पौडेलले प्रत्येक १ लाखमा ३ हजार नेपालीलाई पक्षघात हुने गरेको बताएका छन् ।
विश्व पक्षघात दिवसको सन्र्दभमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष पौडेलले, धुमपान, मध्यपान, ब्लड प्रेसर कन्ट्रोल गरी सक्रिय जीवनशैली अपनाउन सके ९० प्रतिशतसम्म पक्षघातको जोखिमलाई घटाउन सकिने बताए ।
नेपालमा करिब ३ प्रतिशत मानिसलाई पक्षघात हुने गरेको पाइएको छ । अर्थात्, एक लाख मानिसमा ३ हजार मानिस पक्षघातबाट पीडित छन् । त्यस्तै विश्वमा करिब एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षघात हुने गरेको छ । हरेक छ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षघात हुने गरेको नेपाल पक्षघात संघका अध्यक्ष समेत रहेका न्युरोलोजिस्ट डा.पौडेलको भनाई छ ।
धुमपान,मध्यपान नगर्ने,ब्लड प्रेसर कन्ट्रोलमा राख्ने तथा अव्यवस्थित खानपान र जिवनशैलीमा परिवर्तन गरेमात्र पनि ९० प्रतिशतसम्म पक्षघातको जोखिमलाई घटाउन सकिने उनी बताउँछन् ।
उनी भन्छन्, ‘पक्षघातका विभिन्न कारक तत्वहरु छन् । विशेषगरी व्लडप्रेसर, मधुमेह,मध्यपान,धुमपान गर्ने,बदलीँदो अव्यवस्थित जीवनशैलीका कारणले मिश्रित रुपमा पक्षघात हुने गरेको पाइएको छ । यी सबै कारक तत्वले ब्रेनमा रगत जम्मा गराउने र ब्रेनको नशा फुटेर पक्षघात हुने गर्दछ । समयमै व्यवस्थित जीवनशैली अपनाउने र व्लडप्रेसर, मधुमेहलाई कन्ट्रोलमा राख्ने हो भनेपनि ८० देखि ९० प्रतिशत पक्षघातको समस्या घटाउन सकिन्छ ।’
५० वर्ष भन्दा अगाडि पुरुषमा धेरै पक्षघात हुने गरेको र ५० वर्षपछि भने महिला र पुरुषमा तुलनात्मक रुपमा हेर्दा झन्डै समान जस्तो पक्षघात हुने गरेको उनले बताए ।
तर, उपचारको लागि अस्पताल पुग्ने संख्यामा भने पुरुषनै बढी भएको उनको धारणा छ ।
‘हाम्रो समाजमा पक्षघातले महिलामा असर गर्दा उनीहरुमध्ये सबैलाई अस्पताल ल्याइँदैन । केटामा यही रोग लागे अस्पताल आउँछन् ।उपचारको लागि अस्पताल आउनेको आँकडा हेर्ने हो भने केही फरक पाउन सक्छौ । वास्तवमा नेपालमा पक्षघात हुनेमा केटा केटी दुवैको रेसियो बराबर जस्तो नै देखिन्छ,’ पौडेलले भने ।
पक्षघात एक जटिल रोग मानिन्छ । पक्षघात मानिसको मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षघात भनिन्छ ।
पक्षघातको समयमै उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । पक्षघात भएपछि त्यसको २४ देखि ७२ घण्टाभित्रै विरामीको अवस्था हेरेर उपचारसँगै थेरापी गराउनुपर्ने बताउँछिन फिजियोथेरापिस्ट कन्सल्टेन्ट मतिना मानन्धर।
उनले भनिन्, ‘पक्षघात भएका विरामीको ७२ घण्टाभित्र थेरापी सुरु गर्नुपर्ने हुन्छ । विरामी आइसीयुमै भर्ना भएको हो भने पनि विरामीको अवस्था हेरेर आइसीयुबाटै फिजियो थेरापी गर्नु आवश्यक छ ।’
‘हामी सबै मिलेर काम गर्यौं भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर यो दिवस मनाईन्छ । नेपाल पक्षघात संघको नेतृत्वमा विभिन्न अस्पतालका न्युरोलोजिस्ट,न्युरोसर्जन,यो क्षेत्रमा कार्य गर्दैै आएको संघसंस्थाले स्वास्थ्य र पक्षघात सम्बन्धि प्लेकार्डसहित ओकाथन गरेको छ । साथै डाक्टस, प्यारामेडिक्स, फिजियोथेरापिष्ट, डाइटिसियनलगायतका विभिन्न सम्बद्ध पक्षसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
अचानक सन्तुलन गुम्नु, बोली लर्रबराउने, हातखुट्टा कमजोर हुने, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षघातका लक्षण हुन् । उल्लेखित लक्षण देखिएको चार घण्टाभित्र अस्पताल पुग्न सके पक्षघात हुनबाट बच्न सकिने डाक्टरहरुको भनाई छ ।
पक्षघातको उपचारका लागि नेपाल पक्षघात सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नुका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको छ ।
सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको पौडेलले बताए ।

 

Spread the love