नेपाल र साउदी अरब बीच सामान्य र सीपयुक्त श्रमिक लैजाने विषयमा सहमति

जेनेभा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अलहमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण बिषयमा सहमति भएको छ ।
सोमबार जेनेभामा भएको साइडलाइन द्धिपक्षीय भेटवार्ता र छलफलका क्रममा नेपाल र साउदी अरेबियाबीच श्रमिक लैजाने सम्बन्धमा महत्वपूर्ण सहमति भएको हो ।
मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रम सम्बन्धी गरी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार बताए ।नेपालले साउदी सँगको सामान्य श्रमिक सम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ ।
श्रममन्त्री भण्डारीले दुई देशबीच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको जानकारी साउदी पक्षलाई गराउँदै यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारी समेत दिइएको थियो ।
उनले जेनेभा बैठकले साउदी अरेयिबासँग सामान्य श्रम सम्झौता र सीप प्रमाणीकरण कार्यक्रममा हस्ताक्षर गर्ने बाटो खोलि दिएको बताए ।
उनका अनुसार साउदीले पठाएको सामान्य सम्झौताको मस्यौदामा नेपालले सहमति जनाएर औपचारिक रूपमा परराष्ट्र मन्त्रालय मार्फत साउदी सरकारलाई पठाइसकेको छ । त्यस मस्यौदामा अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्ड अनुसार श्रमिकको अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तन, श्रमिकको न्यायोचित भर्ना गर्ने विषयहरू समावेश गरिएका छन् ।

Spread the love