नेप्से परिसुचकसंगै शेयर कारोवार पनि घट्यो

असार २२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसंगै शेयर कारोवार पनि घटेको छ । नेप्से परिसुचक २ हजार ८१८ दशमलव १० विन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन सोमवार ४ अर्ब ५८ करोड २२ लाख १२ हजार रुपयाँ बराबरको १ करोड ६३ हजार ६३६ कित्ता शेयर कारोबार भएकोमा मंगलवार ४ अर्ब २२ करोड ४० लाख १८ हजार बराबरको १ करोड १ लाख ३५ हजार २०९ रुपयाँको कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२० कम्पनीको ४६ हजार ३१० पटकको व्यापारमा भएको हो ।

यो दिन अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक शून्य दशमलव १९ प्रतिशत अर्थात् ५ दशमलव २४ अंकले घटेको हो । २ हजार ८२९ दशमलव ९८ विन्दुदेखि खुलेको मंगलवारको बजार २ हजार ८३४ दशमलव ५५ विन्दुसम्म पुगेको थियो भने २ हजार ८१३ दशमलव ७४ विन्दुसम्म झरेको थियो ।

यस दिन ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३७ प्रतिशत अर्थात् १ दशमलव ९७ अंकले घटेर ५२६ दशमलव ७५ विन्दुमा झरेको छ ।

समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक घटेको यो दिन पाँच ओटा समूहगत परिसूचक बढेको छन् । यस दिन निर्जीवन बीमाको १ दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य २ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव १९ प्रतिशत र लघुवित्त र जीवन बीमा समूहको एउटै अुनपात शून्य दशमलव शून्य ३ प्रतिशतले परिसूचक बढेको छ ।

मंगलवारको बजारबाट लगानी समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन लगानी समूहको परिसूचक सर्वाधिक २ दशमलव १३ प्रतिशतले घटेको हो ।

त्यस्तै जलविद्युतको १ दशमलव ७३ प्रतिशत, व्यापारिकका १ दशमलव शून्य ३ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ७ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ४ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ७ प्रतिशत, अन्यको शून्य दशमलव ४६ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १ प्रतिशत परिसूचक घटेको छ । यस दिन राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक ८ दशमलव ३१ प्रतिशतले बढेको छ । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ६९२ रुपयाँले बढेर अन्तिम मूल्य २२ हजार ५२ रुपयाँ कायम भएको छ ।

मंगलवार सर्वाधिक शेयरमूल्य भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको घटेको छ । साउन ५ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको उक्त कम्पनीले जेठ २८ गते बुक क्लोज गरेको छ ।

हकप्रदको बुक क्लोजपछि पनि लगानीकर्ताको उच्च आकर्षण देखिएको कम्पनीको शेयरमूल्य मंगलवार भने ५ दशमलव ५३ प्रतिशत अर्थात् प्रतिकित्ता २६ रुपयाँले घटेर अन्तिम मूल्य ४४४ रुपयाँ कायम भएको छ ।

यो दिन अपर तामाकोशीको शेयरमूल्य पनि ५ दशमलव शून्य ४ प्रतिशतले घटेको छ । असार २१ गते सोमवारदेखि विद्युत् उत्पादन शुरु गरेको कम्पनीको शेयरमूल्य यस दिन प्रतिकित्ता ३८ रुपयाँले घटेर अन्तिम मूल्य ७१६ रुपयाँ कायम भएको हो ।

 

 

 

Spread the love