नेप्से परिसुचक २९.२४ अंकले बढ्यो, १५ अर्ब बढीको शेयर कारोवार

साउन १२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार धितोपत्र कारोबार मापक नेप्से परिसूचक २९ दशमलव २४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ ।

त्यस्तै, १५ अर्ब १७ करोड ६ लाख ५१ हजार रुपैयाँ बराबरको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२५ ओटा कम्पनीको १ लाख ४१ हजार ६५२ पटकको व्यापारमा भएको हो ।

नेप्से परिसूचक अघिल्लो कारोवारको दिनमा भन्दा शून्य दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो । यस दिन नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यस अघि साताको पहिलो कारोबार दिन नेप्सेले हालसम्मकै ऐतिहासिक रेकर्ड ब्रेक गरी ३ हजार ५८ दशमलव ६३ विन्दुमा बन्द भएको थियो । सोमवार ८ दशमलव २४ अंक घटेर ३ हजार ५० दशमलव ४२ विन्दुमा बन्द भएको नेप्से मंगलवार ३ हजार ३० दशमलव ५१ विन्दुदेखि खुलेको थियो ।

यस दिन सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १९ अंकले बढेर ५७४ दशमलव ३० विन्दुमा पुगेको छ । यस दिन सबैभन्दा बढी रकमको शेयर कारोबार एनआईसी एशिया बैंकको भएको छ भने कित्ताको हिसावमा लक्ष्मी उन्नति कोषको सर्वाधिक इकाई कारोबार भएको छ । यो दिन एनआईसी एशिया बैंकको ४९ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ५४ रुपैयाँ कायम भएको छ । यो दिन १ हजार ३२ रुपैयाँमा खुलेको कम्पनीको शेयरमूल्य न्यूनतम १ हजार १२ देखि अधिकतम. १ हजार ७१ रुपैयाँसम्म पुगेको थियो ।

यस दिन दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । मल्टिपर्पस फिनांस, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर्स, जोशी हाइड्रो र घलेम्दी हाइड्रोको शेयरमूूल्य यस दिन १० प्रतिशतले बढेको छ भने बाँकी आठ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

त्यस्तै २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन लक्ष्मी उन्नति कोषको सर्वाधिक कित्ता इकाई कारोबार भएको छ । यस दिन कोषको १५ लाख ५८ हजार १४७ इकाई खरीदविक्री भएको हो । कोषको प्रस्तावित करसमेत २५ प्रतिशत लाभांश साउन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्राप्त गर्न सक्नेछन् ।

मंगलवार उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ४ दशमलव ७४ प्रतिशतले बढेको छ भने लघुवित्तको सर्वाधिक २ दशमलव शून्य ६ प्रतिशतले घटेको छ ।

 

 

Spread the love