नेप्से बढ्यो कारोबार रकम बढेन, नेप्से १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पनि अघिल्लै दिनको नियति दोहोरिएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनभन्दा पनि घटेको छ ।
नेप्से १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगे पनि कारोबार रकम घटेको हो । बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से ९.३३ अंकले बढेर परिसूचक २०१७.०३ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४५ करोड रुपैयाँ थियो । जबकी मंगलबार ७०.३१ अंकले बजार घट्दा पनि कारोबार ४ अर्ब ४ करोडको भएको थियो ।
दलीय सत्ता समीकरण फेरबदलसँगै मंगलबार मात्रै बुधबार मात्रै अर्थमन्त्री फेरिएका छन् । अर्थमन्त्रीमा माओवादी नेता वर्षमान पुन आउँदा सेयर बजार परिसूचक बढे पनि कारोबार रकम घट्दा भने बजारले उनको आगमनलाई खासै उत्साहजनक नलिएको संकेत दिएको छ । उनको आगमनमा सेयर बजारका लगानीकर्ताले ‘पर्ख र हेर’ को मनस्थितिमा देखिएका छन् ।
बिहीबार होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापारबाहेकका १० उपसमूहको सेयरमूल्य बढेको छ । सर्वाधिक निर्जीवन बीमा समूह १.५६ र जलविद्युत १.१४ प्रतिशतले बढेका छन् ।
कारोबार भएकामध्ये १ सय ७६ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । ५९ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
सेयरमूल्य सर्वाधिक बढ्नेमा पिपुल्स हाइड्रोपावर छ । सर्वाधिक कारोबार हुनेमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, सोनापुर मिनरल्स, मोलुङ हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट छन् । नेपाल पुनर्बीमाको ५६ करोड २० लाख, शिवम्को १६ करोड ४१ लाख र सोनापुरको १३ करोड ४१ लाखको सेयर किनबेच भएको छ ।

Spread the love