काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् ।
सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एक आपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन् ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको सशक्तिकरणमा आवश्यक सहयोग गर्न तत्पर रहेको बताए। उनले संविधान जारी भएको २०७२ साल यता पर्यटन क्षेत्रले थप गति लिएको उल्लेख गर्दै पर्वतारोहण क्षेत्रको सफलताको श्रेय नेपाल पर्वतारोहण संघलाई दिए।
एनका अनुसार पर्यटन नीतिभन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता छ। संस्कृति नीति पनि तयारीको चरणमा रहेको जानकारी दिँदै उनले चीनको सहकार्यमा सञ्चालित हिमालयन एयरलायन्स जस्ता परियोजनाले राष्ट्रिय पहिचान मजबुत बनाउन सहयोग गरेको उल्लेख गरे ।
कतार एयरलायन्सको उदाहरण दिँदै उनले नेपालमा अन्तर्राष्ट्रिय यात्रुको ३१ प्रतिशतभन्दा बढी हिस्सा यसै एयरलायन्सले ओगटेको बताए ।मन्त्री पाण्डेले पर्यटनसँग सम्बन्धित संघ–संस्थाले स्पष्ट एजेन्डा सहित सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।