१०० संख्याको समस्या समाधानः कम कामदार पठाउनेको पनि लाइसेन्स नवीकरण हुने

 

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरुको १०० संख्याको समस्या समाधान भएको छ । आइतबार प्रतिनिधि सभाबाट केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतीले पारित भए सँगै व्यवसायीहरुको १०० संख्याको समस्या समाधान भएको हो । विधेयक प्रतिनिधि सभामा पेस भईपारित भएर राष्ट्रिय सभामा गएकोमा गत असार१७ गतेमा राष्ट्रिय सभाले संशोधन सहित पारित गरेर पुनःप्रतिनिधि सभामा पठाएको थियो ।विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुने छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएपछि ७९ वटा ऐन संशोधन हुनेछन् ।
विधेयक पारित भएपछि इजाजत प्राप्त मेनपावर कम्पनीले वार्षिक कम्तीमा १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यात्मक प्रावधान हटेको छ । अब एक वर्षमा १०० जना कामदार बैदेशिक रोजगारमा पठाउन नसक्ने मेनपावर कम्पनीले पनि सहजै नवीकरण हुन पाउने छन् ।
वार्षिक १०० जना कामदार वैदेशिक रोजगारमा पठाउनै पर्नेे व्यवस्था विरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघ लगायतका पेसागत संघ संस्थाहरुले आवाज उठाउंदै आएका थिए । गतवर्ष मन्त्रीपरिषदले अन्तिम पटकका लागि भनी बाधा अड्काउ फुकाउको अधिकार प्रयोग गरेकोे थियो । यस प्रकारको निर्णयबाट सय जना कामदार पनि वैदेशिक रोजगारमा पठाउन नसक्ने २५८ वटा मेनपावर कम्पनीको इजाजत नवीकरण गरिएको थियो ।

Spread the love