प्रधानमन्त्री ओलीद्धारा तामाकोशी जलबिद्युत आयोजनाको उद्घाटन

असार २१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्ध्घाटन गरेका छन् । ओलीले भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजना उद्घाटन गरेका हुन् ।

पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु भएलगत्तै हरेक साता थप अर्को युनिटबाट परीक्षण उत्पादन सुरु हुने आयोजनाको तयारी छ । ४ सय ५६ मेगावाट जडित क्षमता भएको आयोजनामा कुल ६ वटा विद्युत् उत्पादन युनिट छन ।

यो आयोजना पूर्ण रूपमा सञ्चालनमा आएसँगै वर्षायाममा नेपाल विद्युतमा आत्मनिर्भर बन्नेछ । नेपालका आन्तरिक जलविद्युत् आयोजना पूर्ण रूपमा सञ्चालन हुने वर्षायाममा पनि नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक २ सय मेगावाट विद्युत् आयात गरिरहेको छ ।

यो आयोजनाको बिजुली ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत निर्यात गर्ने प्राधिकरणको तयारी छ । तर यसका लागि प्राधिकरणले हालसम्म भारतीय पक्षबाट अनुमति पाइनसकेको छैन । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले केही महिनाअघि जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकाअनुसार प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा पहुँच पाइसकेको छ ।

उक्त निर्देशिकामा भारतीय कम्पनीलाई प्रतिनिधि तोकेर भारतसँग ऊर्जा व्यापार सम्झौता भएका छिमेकी मुलुकले इनर्जी एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गर्न सक्ने प्रावधान छ । सोहीअनुसार प्राधिकरणले भारत सरकारको स्वामित्वमा रहेको एनभीभीएनलाई आफ्नो प्रतिनिधि तोकेर हरेक दिन प्रतिस्पर्धी दरमा विद्युत् खरिद गरिरहेको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाटको पहिलो युनिट बिजुली उत्पादन सुरु भएको छ ।

शुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब हाराहारी पुगेको छ । यो परियोजनाले आर्थिक वृद्धिमा करिब एक प्रतिशत योगदान दिने अर्थ तथा ऊर्जामन्त्री विष्णु पौडेलले जानकारी दिए । उनले यसले दिगो रुपमा लोडसेडिङ अन्त्य गर्ने सुनिश्चित गरेको बताए ।

माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित बिजुली विद्युत गृह रहेको गोगरबाट न्यू खिम्ती सबस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली जोडिएको छ ।

 

 

Spread the love