प्रधानमन्त्री देउवाद्धारा डा. जागेश्वर गौतमको सरुवा रोक्न निर्देशन

साउन १९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालका चिकित्सक जागेश्वर गौतमको सरुवा रोक्न निर्देशन दिएका छन् । देउवा स्वंय स्वास्थ्यमन्त्री समेत हुन् ।

वीर अस्पतालको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी रहेका डा. गौतम सहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्री स्तरीय निर्णय कार्यान्वयन नगर्न देउवाको आदेश छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको सक्रियतामा गौतम लगायतको सरुवा भएको थियो । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए ।

तर प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका छन् । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले पनि प्रधानमन्त्री कार्यालयबाट निर्णय कार्यान्वयन नगर्न निर्देशन आएको पुष्टि गरेका छन् । राज्यमन्त्रीले गरेको निर्णयलाई यो कार्यकालको देउवाले पहिलो पटक हस्तक्षेप गरेका छन् ।

 

 

Spread the love