प्रधानमन्त्री शेरबहादुर देउवाले कार्तिक १८, १९ र २० गते छिमेकी देश भारतको भ्रमण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी देश भारतको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवाले यही कार्तिक १८, १९ र २० गते छिमेकी देश भारतको भ्रमण गर्न लाग्नुभएको हो । मंगलवार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधामन्त्रीको भारत भ्रमणका बारेमा जानकारी दिनुभएको हो । उहाँले भ्रमणको सम्बन्धमा आवश्यक तयारी अगाडी बढिरहेको बताउनुभयो । श्रीलंकाको कोलम्बोमा सुरु भएको बिमस्टेक सदस्य राष्ट्रहरुको पाँचौ शिखर सम्मेलनमा भाग लिन पुग्नुभएका परराष्ट्रमन्त्री डा. नारायण खड्काले मंगलवार नै १८ औँ विमस्टेकको मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गरिसक्नुभएको प्रवक्ता लम्सालले बताउनुभयो ।
मन्त्री खड्काले भारतीय समकक्षीसँग पनि साइडलाइन भेटवार्ता गरिसक्नुभएको उहाँले बताउनुभयो । विमस्टेक शिखर सम्मेलनमा बुधवार प्रधानमन्त्री देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो । सो सम्मेलनमा विमेस्टेकको वडापत्र, आपराधिक मामिलामा आपसी कानूनी सहायता सम्बन्धी विमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा विमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आवद्धताको सम्झौता र कुटनीतिक तालमेलका क्षेत्रमा आपसी सहयोग सम्बन्धी विमेस्टेक समझदारी पत्र गरी चारवटा दस्तावेजहरुमा हस्ताक्षर हुने अपेक्षा गरिएको प्रवक्ता लम्सालले बताउनुभयो ।
उहाँले मार्च २५ देखि २७ सम्म चीनका विदेशमन्त्री वाङ यी ले नेपालमा गर्नुभएको भ्रमणका क्रममा ९ वटा विषयमा सम्झौता भएको बताउनुभयो । भ्रमणका क्रममा दुई देश बिचको पारस्परिक हितलाई प्रवद्र्धन गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
नेपालले गणतन्त्र पलाउ र दक्षिण सुडान कुटनीतिक सम्बन्ध कायम गरेको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । यससँगै नेपालको १७५ देशसँग कुटनीतिक सम्बन्ध स्थापना भएको उहाँको भनाई छ । यसका साथै नेपालको परराष्ट्र मन्त्रालय र दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयबीच द्धिपक्षीय परामर्श संयन्त्रको स्थापना गर्ने सम्झौतामा दुई देशका परराष्ट्र सचिवको स्तरमा हस्ताक्षर भएको पनि उहाँले उल्लेख गर्नुभयो । नेपाल र बंगलादेशका परराष्ट्र सचिव स्तरीय तेस्रो बैठक आगामी अप्रिल ११ देखि १३ सम्म पोखरामा हुने पनि उहाँले जानकारी दिनुभयो । यसबिचमा परराष्ट्र मन्त्रालयले नेपालबाट बाहिर पुगेका पुरातात्विक महत्वका ७९ वटा सम्पदाहरु स्वदेश फर्काएको पनि जनाएको छ । जसमध्ये तिब्बतबाट २८, कलकत्ताबाट १३, बेलायतबाट १९, अमेरिकाबाट १७, अष्ट्रियाबाट १ र जर्मनीबाट १ थान सम्पदा नेपाल फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताउनुभयो ।

Spread the love