बर्षभरिमा २८ अर्बको चामल आयात

असार १९, काठमाडौं । कृषिजन्य उत्पादनमा हामी झन झन पर निर्भर बन्दै गएका छौं । कृषि प्रधान मुलुक भएपनि ११ महिनामा ७४ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ ।

भंसार बिभागका अनुसार, ११ महिनामा मुलुकमा साढे २८ अर्ब रुपैयाँ भन्दा धेरै चामल आयात भएको छ । यस वर्षको चामल आयात अघिल्लो वर्षको तुलनामा ७ अर्ब ४० करोडले बढी हो । गत वर्ष जेठसम्म नेपालले २१ अर्ब २० करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरको चामल आयात गरेको थियो ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ अन्तिमसम्म ६० करोड ३७ लाख २४ हजार ९८६ किलो विभिन्न प्रकारको चामल नेपालमा आयात भएको छ । सो आयातका लागि मुलुकबाट २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको छ ।

सो परिणामको चामल आयात हुँदा सरकारले भने २ अर्ब ७५ करोड १३ लाख रुपैयाँ भन्दा धेरै राजस्व संकलन गरेको छ । वैशाख अन्तिमसम्म नेपालले २८ अर्ब ३० करोड ४ लाख रुपैयाँ बराबरको चामल आयात गरेको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा ७४ अर्ब ६७ करोड ५१ लाख १० हजार रुपैयाँ बराबरको खाद्यान्न (चामल, मकै, कोदो) आयात भएको हो ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठूलो परिणाममा खाद्यान्न आयात भएको हो । गत वैशाख महिनामा ६८ अर्ब ६३ करोड ९४ लाख २३ हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो । कोरोना महामारी जारी रहेका बेला एक महिनाको अवधिमा ४ अर्ब रुपैयाँ भन्दा बढीको खाद्यान्न आयात भएको विभागको तथ्यांक छ ।

यस्तै ११ महिनाको अवधिमा १४ अर्ब ४८ करोड ३० लाख ५९ हजार रुपैयाँको मकै आयात भएको छ । अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, भारत र नाइजेरियाबाट मकै आयात हुने गर्छ । पोल्ट्री फार्मका लागि मकैको खपत धेरै हुने भएपछि ठूलो परिणाममा आयात हुने गर्छ । कुखुराको दानका लागि मकै आयात हुने गर्छ । मुलुकमा उत्पादन गर्ने प्रयाप्त सम्भावना हुँदा पनि स्थानीयस्तरमा माग अनुसार उत्पादन हुन नसक्दा मकैका लागि वर्षेनी ठूलो रकम बाहिरिने गर्छ ।

खाद्यान्नको माग बढ्दै गएपछि आयात बढेको विभागले जनाएको छ । नेपालमा चामल निर्यात गर्ने प्रमुख मुलुकको रुपमा भारत रहेको छ भने चीन, फिलिपिन्स, जापान थाइल्याण्डबाट पनि चामल आयात भएको भन्सारको विवरणमा देखिन्छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा र उपभोक्तामा खानेबानीमा आएको परिवर्तको कारणले गर्दा पनि वर्षेनी ठूलो परिणाममा चामल आयात हुने गर्छ । पछिल्लो समय मसिनो चामल खाने प्रवृत्ति बढ्दै गएकाले पनि चामलको आयात धेरै हुने गरेको तथ्यांकले देखाएको छ ।

 

 

Spread the love