बिद्यार्थीलाई १०० दिनको रोजगारदेखि ल्यापटप किन्न ८० हजार ऋणसम्म

 

जेठ १५, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् ।

बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । आज शनिबार बजेट सार्बजनिक गर्दे १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् ।

पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने सरकारले जनाएको छ ।

बजेट भाषण वाचन गर्दै अर्थमन्त्री पौडेलले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ तथा स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई काममा लगाउने गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष २ लाख रोजगारी सिर्जना गर्न रु १२ अर्ब विनियोजन गरिएको उनको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको हेडवर्क निर्माण गर्न २ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री पौडेलले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइने लक्ष्य प्रस्तुत गरे । तराईको सिँचाइका लागि यो परियोजनालाई सरकारले महत्वका साथ अगाडि बढाइरहेको छ ।

 

 

Spread the love