बीमा समितिद्धारा कोरोना भाइरस सम्बन्धी बीमालेख जारी

बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख आइतबारदेखि औपचारिक रुपमा जारी गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गर्नुभएको हो । अध्यक्ष चापागाईंले कोरोना भाइरस महामारीको रुपमा आएको र सानो रकमबाट भएपनि संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले बीमालेख जारी गरिएको बताउनुभयो । कोरोना भाइरस संक्रमण पछिको उपचार सरकारले गर्ने भएपनि संक्रमित व्यक्तिको आर्थिक स्थितिलाई ध्यान दिएर बीमा लेख जारी गरिएको उहाले बताउनुभयो ।
कुनैपनि नेपाली नगारिक, परिवार एवं संस्थाले आफ्ना सदस्यहरुको व्यक्तिगत वा समुहिक बीमा गर्न सक्ने अध्यक्ष चापागाईंले बताउनुभयो । उहाले लकडाउनको अवस्थामा पनि सजिलै पोलिसी खरिद गर्न सकिने बताउनुभयो । पोलिसी खरिदका लागि मडिकल र वित्तीय अण्डरराइटिङको आवश्यकता नपर्ने भएकाले पनि अनलाइनमार्फत खरिद गर्न सकिने अध्यक्ष चापागाईले बताउनुभयो । उहाले इन्टरनेटको पहुँच नभएको ठाउमा समेत निर्जीवन बीमा कम्पनीहरुले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत बीमा विक्री गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

बीमा पोलिसी खरिद गरेको १५ दिन पछि एक वर्षसम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रभाणित भएमा बीमा दाबी गर्न सकिने अध्यक्ष चापागाईंले बताउनुभयो । यस्तै कोरोना भाइरस (कोभिड–१९) बीमा बीमालेख घातक रोग सरह भएको समेत बताउनुभयो । उहाँले बीमालेखलाई दुई श्रेणीको बीमाङ्कमा कायम गरिएको बताउनुभयो । पहिलो बीमालेख १ लाख रुपैयाँको बीमाङ्कको छ भने उक्त पोलिसि खरिद गर्नका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्ने छ । यस्तै पारिवार वा संस्थागत रुपमा बीमा गरिन्छ भने प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ ।
यस्तै दोस्रो बीमालेख ५० हजार रुपैयाँको छ । उक्त बीमालेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामुहिक बीमा गर्न प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्ने छ । बीमा दाबीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहेको छ । यस बीमालेखको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा पुलमार्फत हुने छ । यस्तै बीमालेख सबै निर्जीबन बीमा कम्पनीको वेबसाइट मार्फत तथा आइएमई पे मार्फत सिधै खरिद गर्न सकिने छ । नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको ८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत दायित्व हुने गरी बीमा पुल मार्फत पोलिसी सञ्चालन गरिएको अध्यक्ष चापागाईंले बताउनुभयो ।

Spread the love