‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलवारको सभाको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मंगलवार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् ।
मन्त्री पौडेलले भन्सार बिन्दुहरुमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताए । उनले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरु पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताए ।
विधेयकले राजश्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ ।