भारतले बढायो नेपाललाई दिने वार्षिक अनुदान

भारतले आगामी आर्थिक वर्ष २०२१ र २२ को लागि बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले भारतले एकसयभन्दा धेरै मुलुकलाई कोरोना खोप दिने बताएकी थिइन् । कोरोना महामारी अहिले विश्वभर फैलिएको अवस्थामा भारतले खोपका लागि तीन खर्ब ५० अर्ब भारु छुट्याएको छ । भारतले यस वर्षको स्वास्थ्य बजेट १३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८ अर्ब ४६ करोड पुर्‍याएको छ ।
भारतले नेपाललाई दिने वार्षिक अनुदानमा पनि वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१ र २२ का लागि सार्वजनिक गरेको बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड रुपैयाँ)ले बढेको छ ।
भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भएको छ । भारतले पहिलो पटक पेपरलेस बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।

Spread the love