पाकिस्तानले भारतको जम्मू र पठानकोटमा ड्रोनबाट आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको छ ।
कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपाली सहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु गरेको थियो ।
भारतको आक्रमणबाट ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तान सरकारले समेत पुष्टि गरेको छ । ‘अपरेसन सिन्दूर‘ नाम दिइएको भारतको एयर स्ट्राइकपछि सीमा क्षेत्रमा दुवैतर्फबाट आक्रमण तीव्र भएको छ ।
पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको तर भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको दाबी गरिएको छ ।
