भूकम्पपछि म्यानमारमा उद्धार र राहत जारी, मृत्यु हुनेको संख्या ६९४ पुग्यो

एजेन्सी । शुक्रबार देशलाई हल्लाएको ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारको दोस्रो ठूलो शहर मन्डलेमा उद्धार कार्य जारी छ। भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि उद्धार जारी छ ।
भूकम्प पछि उद्धार र राहत प्रयासलाई सहयोग गर्न दक्षिण पश्चिम चीनको युनान प्रान्तबाट ३७ सदस्यीय उद्धार तथा चिकित्सा टोली शनिबार बिहान म्यानमार गएको छ ।
यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूकम्पपछि दक्षिण पूर्वी एसियाली देशहरूमा खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्न आब्हान गरेका छन् ।
म्यानमारको मन्डले क्षेत्रमा शनिबार बिहानसम्म भूकम्पमा परी ६९४ जनाको मृत्यु भएको छ भने १,६७० जना घाइते भएका छन् भने ६८ जना बेपत्ता भएको म्यानमारको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ।
भूकम्पको धक्का चीन, थाइल्याण्ड र लाओसमा पनि महसुस गरिएको थियो। न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले भूकम्पबाट प्रभावित मानिसहरूप्रति समवेदना व्यक्त गरे ।
गुटेरेसले शक्तिशाली भूकम्पपछि म्यानमार सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आग्रह गरेको बताए।

Spread the love