मिटरब्याज र लघुवित्त पीडितलाई ठाउँ ठाउँमा अवरोध

काठमाडौं । चर्को ब्याज लिएर साहुले ढाड सेकेपछि न्यायको खोजीमा काठमाडौं आएका मिटरव्याज, लघुवित्त र सहकारीपीडितलाई प्रहरीले ठाउँ ठाउँमा अवरोध गरेको छ ।
२३ दिन लगाएर सिंहदरबार घेर्न काठमाडौं आइपुगेका पीडितहरूलाई मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदारबारमा निषेध गरिएको छ । त्यस्तै भृकुटीमण्डप र वालुवाटारमा पनि प्रहरीले अवरोध गरेको छ । वालुवाटारको राष्ट्र बैंक अगाडि उनीहरुले प्रदर्शन गरेका थिए ।
झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज एव लघुवित्तपीडित पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका थिए ।
बिहीबार सिंहदरबार अगाडि गएर प्रदर्शन गर्ने उनीहरुको योजना थियो । तर मौसम प्रतिकुलताका कारण प्रदर्शन रोकिएको थियो ।
शुक्रबार बिहान थानकोटबाट हिँडेका पीडितहरुको टोली भृकुटीमण्डपबाट अगाडी बढ्नै सकेन । नारा लगाउँदै थानकोटबाट टेकु हुँदै सिंहदरबारतिर अघि बढेको टोलीलाई भृकुटिमण्डप नपुग्दै प्रहरीले हस्तक्षेप गरेको थियो । जसका कारण बाघदरबारको बाटो बन्द भएको थियो ।
पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबारतर्फ अघि बढेका थिए । तर उनीहरूलाई प्रहरीले रोकेको थियो । तर उनीहरुले रोकेकै स्थानमा नारा लगाए । सिहदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो । दुवै टोली चितवनमा भेट भएर सँगै काठमाडौं आएका थिए ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरेपनि आफूहरूको समस्या समाधान नभएको भन्दै पीडितहरू पुनः न्याय खोज्दै काठमाडौं आइपुगेका हुन् ।

Spread the love