काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आइतबार बसेको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत सिफारिस, सुझाव तथा ती सिफारिस बजेटमा समावेश भए/नभएको विषयमा विस्तृत छलफल गरिएको छ।
बैठकमा आयोगले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्ने क्रममा भोगेका समस्या, चुनौती तथा समितिमा प्राप्त उजुरीहरूबारे समेत छलफल भएको हो ।
छलफलका क्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले राजस्व बाँडफाँड र प्राकृतिक स्रोत परिचालनमा आयोगको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।
उनले ऐन कानून सार्ने मात्रहोइन, सरकारलाई आवश्यक निर्देशन दिने काममा समिति पनि सक्रिय हुनुपर्नेमा जोड दिए।
बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक स्रोतको न्याय संगत वितरण र विज्ञको सहभागिता विकासको मूलचाबी भएको उल्लेख गरे ।