राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न हुँदैनः जुत्ता उत्पादक संघ

फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताउनुभएको छ । बिहीवार जुत्ता उत्पादक संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिमिरेले राज्यले भएका साना तथा घरेलु उद्योगहरुलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने अवस्थामा आफैँ नयाँ उद्योग खोल्न राम्रो नभएको बताउनु भयो । उहाँले सरकारले आफैँ नयाँ उद्योग खोले भएका निजी जुत्ताचप्पल उद्योगहरु बन्द गरेर बस्नुपर्ने बताउनु भयो । घिमिरेले सरकारले भएका उद्योगलाई नीतिगत रुपमा संरक्षण गर्ने भएकाले कुनैपनि देशमा सरकार आफैँले उद्योग र व्यवसायमा लाग्ने गरेको नदेखिएको बताउनु भयो । उहाँले वर्तमान अवस्थामा निजी नेपाली जुत्ता चप्पल उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको बताउनु भयो । उहाँले सरकारको नीतिगत व्यवस्था र अन्य कारणले नेपाली निजी जुत्ता उद्योग अहिले ३५ प्रतिशत भन्दा बढी सञ्चालन हुन नसकेको बताउनु भयो । घिमिरेले भएका उद्योग पूणर् क्षमतामा चल्न नसकेको अवस्थामा राज्य आफैँले नयाँ उद्योग खोल्नु निजी उद्योगीहरुको लागि राम्रो नहुने बताउनु भयो ।
उहाँले सरकार भएका उद्योगहरुको संरक्षण गर्नुपर्ने अवस्थामा आफैँ उद्योग व्यवसायमा लागे जुत्ता उत्पादक संघ नेपालले बिरोध गर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा संघले नेपाली जुत्ता उद्योग देशको मागलाई धान्नसक्ने उत्पादन क्षमताको विकास भएको बताएको छ । संघले नेपालको दक्षिण सीमानाबाट हुने चोरी,पैठारी र कम मूल्यका कारण नेपाली जुत्ता उद्योगी व्यवसायीहरुलाई मार परेको जानकारी दिएको छ । खुला सीमानामा हुने जुत्ताचप्पल चोरी,पैठारी नियन्त्रणमा सरकार सशक्त रुपमा लाग्न माग गरेको छ । चोरीपैठारी रोकी ३० अर्ब बढी स्वदेशी लगानीमा सञ्चालित १५ सय उद्योग बचाउन संघले सरकारसँग माग गरेको छ ।

Spread the love