राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवतीको दर्शन

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् ।
आइतबार बिहान राष्ट्रपति पौडेल पलाञ्चोक भगवती मन्दिरमा दर्शन गरेका हुन् ।
बड़ा दशैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलाञ्चोक सहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।
पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमा समेत लिने गरिन्छ ।
जिल्लाको बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बुद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ ।
भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान स्थानीय ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्दैआएको किंवदन्ती रहेको छ ।

Spread the love