काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनले सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सामग्री तथा लत्ताकपडा वितरण गरेको छ । लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएशनले शनिबार बबरमहल स्थित स्वच्छ सेवा केन्द्र पुगेर लत्ताकपडा तथा शैक्षिक सामग्रीहरु वितरण गरेको हो । एसोसिएशनका अध्यक्ष दीपक थापा, का.बा. महासचिव तुलसीराम पुरी समेतले सामग्री वितरण गरेका हुन् । वितरण गरिएका सामाग्रीहरु लत्ता कपडा, पाठ्यपुस्तक, स्टेशनरी लगायतका शैक्षिक सामग्री रहेको का.बा. महासचिव तुलसीराम पुरीले बताए ।

कार्यवाहक महासचिव तुलसीराम पुरीका अनुसार अध्यक्ष दीपक थापाले करिब रु १ लाख ५० हजार बराबरको सामग्री सहयोग गरेका छन् भने पुरीले रु ५१ हजार ८८ नगद तथा सदस्य सविता सिंहले रु १५ हजार नगद सहयोग गरेकी छन् ।
“पेसागत हितसँगै एसोसिएशनले समाज सेवामा पनि सक्रिय भूमिका खेलिरहेको छ,“ कार्यवाहक महासचिव पुरीले बताए । उनका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ । । स्वच्छ सेवा केन्दले अनाथ तथा अभिभावकविहीन बालबालिकाको लालनपालन, शिक्षा तथा समग्र विकासका क्षेत्रमा कार्य गर्दै आएको छ।

