वर्तमान सरकारलाई बोकिरहन नसकिने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने चेतावनी दिनु भएको छ ।
वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँडन नसकिने अध्यक्ष ओलीको तर्क थियो । ललितपुरमा आयोजित विभिन्न सञ्चार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भईसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताउनु भयो । सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भईसकेकाले यसलाई कायम राखेर गए देशमा हंैजा फैल्याउने ओलीको भनाई थियो । उहाँले सरकारका सबै अंगप्रत्यङ्ग झर्न लागेको र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा त्यसैको दृष्टान्त भएको जिकीर समेत गर्नु भयो । सबै अंगप्रत्यङ्ग काम नलागेकी सतीदेवीलाई भगवान शिवले समेत बचाउन नसकेको स्मरण गराउँदै ओलीले वर्तमान सत्तारुढ गठबन्धन र सरकारको हालत पनि त्यही भएको बताउनुभयो । उहाँले मुलुक संघीय संसद र प्रदेशसभाको निर्वाचनमा प्रवेश गरिसकेकाले पनि परमादेशी वर्तमान सरकारको कुनै औचित्य नभएको पनि दोहोर्‍याउनु भयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेको भए सत्तारुढ गठबन्धन उहिलेनै टुटिसकेको हुने दावी समेत गर्नु भयो । उहाँले गठबन्धनलाई नक्कली विहेको संज्ञा दिँदै त्यसो गरेर साँचो डिभोर्स गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पटकपटक दोहोर्‍याउनु भयो ।
अध्यक्ष ओलीले सरकार मुलुकलाई श्रीलंकामा जस्तै संकटतर्फ लैजान केन्द्रित भएको आरोप समेत लगाउनु भयो । उहाँले आगामी संघीय संसद र प्रदेशसभाको चुनावमा आफ्नो पार्टीले देशको वास्तविक समस्या र तिनलाई समाधान हुने खालको एजेण्डा लिएर जनतामा जाने पनि स्पष्ट पार्नु भयो ।

Spread the love