वित्तीय सहकारीको लागि छुट्टै ऐन नल्याएसम्म सहकारी क्षेत्र माथि उठ्न सक्दैन् ः अध्यक्ष पौडेल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेलले नेपालमा वित्तीय सहकारीको लागि छुट्टै ऐन ल्याउनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा नेफ्स्कुनको ३६ औं बार्षिकोत्सव समारोहमा पौडेलले नेपालको सहकारीको हालको अवस्थालाई सम्बोधन गर्न वित्तीय सहकारीलाई छुट्टै ऐन मार्फत सम्बोधन नगरेसम्म नेपालको सहकारी अभियानको विकास हुन नसक्ने धारणा राखे ।
उनले भने,‘वित्तीय सहकारीको छुट्टै ऐन नआइकन नेपालको सहकारी अभियानले गति लिन सक्दैन् । वित्तीय सहकारीको छुट्टै ऐन आउन जरुरी छ ।’
अध्यक्ष पौडेलले सबैलाई एउटै ऐनमा समेटेर भन्दा सहकारीको प्रकृतिको आधारमा कानूनी सम्बोधन गर्न जरुरी भएको पनि बताए ।
‘उत्पादन र सेवामा जोडिएका सहकारीहरु र वित्तीय सहकारीको बिचमा भिन्न ढंगले उपचार र सम्बोधन गर्न जरुरी छ,त्यो भयो भने मात्रै हामी अगाडि बढ्न सक्छौ,’ पौडेलले भने।
अध्यक्ष पौडेलले वित्तीय क्षेत्रको निगरानी र अनुगमनलाई प्रभावकारी बनाउँन आवद्धता र निष्कासन अभियानलाई दिनुपर्ने चुनौती सहकारीको वित्तीय क्षेत्रमा रहेको उल्लेख गरे । उनले हाल सहकारी क्षेत्रको परिस्थिति र मनस्थितिले दुबै कमजोर बनेको र सहकारी क्षेत्रलाई फेरि उठाउने भन्दै त्यसका लागि आन्तरिक रणनीति र कानूनी संहिताको कडा रुपमा पालना गर्नुपर्ने बताए ।

Spread the love