विदेशमा पलायन भएका नेपालका सांस्कृतिक सम्पत्तिहरु फिर्ता ल्याउन सकिन्ने पुरातत्व विभागका महानिर्देशकको भनाइ

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विदेशमा पलायन भएका नेपालका सांस्कृतिक सम्पत्तिहरु फिर्ता ल्याउन सकिने बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित हुनुभएका महानिर्देशक गौतमले सरकारले स्पस्ट नीति बनाए नेपालबाट विदेशमा पुगेका सांस्कृतिक सम्पत्ति तथा सम्पदाहरुलाई फिर्ता ल्याउन सकिने बताउनुभएको हो । त्यसका लागि पोलिसि निर्माण गर्न मन्त्रालयलाई निर्देशन दिन समेत उहाँले समितिलाई आग्रह गर्नुभयो ।
पुरातत्व विभागले चालु आर्थिक वर्षमा गरेका कार्यप्रगति र आगामी कार्य योजनाको विषयमा गरिएको छलफलका क्रममा महानिर्देशक गौतमले जनशक्तिको अभाव हुँदा देशका सबै सम्पदाको विकास र संरक्षणको काम प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले देशभरका सम्पदालाई हेर्न जम्मा ६५ जनाको दरबन्दी रहेको र काठमाडौं, नुवाकोट र गोरखामा बाहेक कतैपनि कार्यालय नरहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्ष भित्रमा भूकम्पबाट क्षति भएका ९ सय २० सम्पदा मध्ये ४ सय ६० सम्पदाको पुननिर्माण सम्पन्न हुने जानकारी समेत दिनुभयो । बैठकमा सांसदहरुले स्थानीय तह, प्रदेश सरकार, पुरातत्व विभाग र पुननिर्माण प्राधिकरण बीच समन्वय हुन नसक्दा पुननिर्माणको कामले गति लिन नसकेको बताएका छन् । यस्तै सांसदहरुले विभगसँग नयाँ भिजन र योजना नहुँदापनि पुरातात्विक सम्पदाहरुको संरक्षण हुन नसेको बताएका छन् । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले पुरातत्व विभागले नेपालमा रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास र पुनरउत्थान गर्न नसकेको स्पस्ट देखिएको बताउनुभयो । उहाँले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग स्पस्ट भिजन नहुनु र अर्थमन्त्रालयले समेत महत्व नदिदा पुरातत्विक सम्पदाहरुको संरक्षणमा समस्या देखिएको बताउनुभयो ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले नेपालको सांस्कृतिक सम्पदाको संरक्षणका लागि नयाँ ढंगबाट योजना बनाउन विभागका महानिर्देशक गौतमलाई आग्रह गर्नुभयो । नेपालको पर्यटन विकासका लागि पनि नयाँ ढंगबाट योजना ल्याएर पुरातात्विक सम्पदाहरुको विकास र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद नारनमुनि रानाले विभागले स्थानीय तहसँग समन्वय गर्न नसक्दा सांस्कृतिक सम्पदाहरुको संरक्षण हुन नसकेको बताउनुभयो । यस्तै पशुपति क्षेत्रमा भएका महत्वपूर्ण वस्तुहरु विभिन्न व्यक्तिको घरमा पुगेको, विदेशमा पुगेकोले त्यसलाई फिर्ता गर्न विभागको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।

बैठकमा सांसदहरुले भूकम्पपछि क्षति हुन पुगेका सम्पदाहरुको पुननिर्माणलाई तिब्रता दिन आफ्नो भूमिकालाई थप प्रभावकारी रुपमा अगाडि बढाउन विभागलाई आग्रह गरेका छन् । यस्तै सम्पदाहरुको खोज र अनुसन्धान कार्यलाई बढाउन र प्राप्त भएका पुरातात्विक सम्पत्तिहरुको व्यवस्थितसंरक्षण गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

Spread the love