विपद् व्यवस्थापनको क्षेत्रमा सजगता र केन्द्रीकृत भएर लाग्न नसकेको गृहमन्त्रीको भनाइ

गृहमन्त्री बालकृष्ण खाँडले विपद्को क्षेत्रमा अझै सचेत र सजगप्रति केन्द्रीकृत भएर लाग्न नसकेको बताउनु भएको छ । शुक्रवार गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकमा मन्त्री खाँणले यस्तो बताउनु भएको हो । उहाँले नेपालको भू बनावटका कारण जुनकुनै बेलामा पनि विपद्का घटनाहरु हुनसक्ने भन्दै त्यसबारे पूर्व तयारी र विश्लेषण गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले विपद् व्यवस्थापनको क्षेत्रमा अझै पनि सजगता र केन्द्रीकृत भएर लाग्न नसकेको साथै बजेट पनि भनेजस्तो हुन नसकेको बताउनु भयो ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले विपद् पूर्व नै पूर्व सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने बताउनु भयो । उहाँले जनतालाई विपद्बाट जोगाउनका लागि चेतावनीस्वरुप सूचना प्रकाशन गर्दा त्यसले मानवीय र भौतिक क्षति हुनबाट जोगाउन सकिने बताउनु भयो । मन्त्री श्रेष्ठले संघीय राज्य व्यवस्था भइसकेपछि हरेक काममा तीन तहको समन्वयको आवश्यक पर्ने र स्थानीय तहलाई बजेटदेखि लिएर सबै क्षेत्रमा प्रभावकारी बनाउन सक्यो भने स्थानीय सरकारले धेरै काम गर्ने बताउनु भयो ।

कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अव्यवस्थित रुपमा राखेका सुकुम्बासीहरुलाई सरकारले जगगा उपलब्ध गराउने भन्दा पनि आवास बनाउनु पर्ने बताउनु भयो । उहाँले सरकार संविधानमा सुकुम्बासी, जोखिम बस्ती र विपद् परेका व्यक्तिहरुरुलाई जग्गा वा आवास दुई मध्ये एकमा स्पष्ट हुन आवश्यक रहेको बताउनु भयो ।

मन्त्री झाँक्रीले सरकारले जोखिममा परेकाहरुलाई जग्गा किनेर उपलब्ध गराउन सक्ने स्थितीमा नरहेको भन्दै विपद्मा परेका वा जोखिमका बस्तीलाई जग्गा छोडेर आवास उपलब्ध गराउनेतर्फ लाग्नुपर्ने बताउनु भयो ।

Spread the love