विश्वविद्यालयबारे विज्ञहरुसँग छलफल गरिने

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विश्वविद्यालय अझ राम्रो बनाउनको लागि विज्ञहरुसँग छलफल गर्ने बताएका छन् ।
शुक्रबार समितिमा भएको बैठकमा उनले विश्वविद्यालय विकास गर्ने कुरामा सबैको धारणा आवश्यक भएको भन्दै थप छलफलको लागि विज्ञहरुलाई बोलाउने बताएका हुन् ।
उनले भने, ‘विश्वविद्यालय बनाउन सरकारले चाहेको छ । यसलाई अझ कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ हामी अघि बढ्नुपर्छ । त्यसको लागि केही विज्ञहरु बोलाएर छलफल गर्ने निष्कर्षमा पुगेका छौं । विश्वविद्यालय बनाउने कुरामा, सोचका बारेमा हामीले छलफल गर्नुपर्छ । यस सम्बन्धमा सबै जनाको अवधारणा आवश्यक हुन्छ ।’
यस्तै उनले छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, बद्री पाण्डे र राम प्रकाश चौधरीसँगको परामर्श र सल्लाहामा विज्ञ बोलाउने छलफल गर्ने र राय सुझाव लिन लागेको बताए ।
बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको थियो । बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय विधेयक २०८० संसदबाट पारि गर्न समितिलाई अनुरोध गरेका छन् ।
उनले नगरपालिकाले उच्च शिक्षा प्रदान गर्ने संस्थाहरु सञ्चालन गर्दै आएको भन्दै ती संस्थाहरुलगायत अन्य संस्थालाई समेटेर ख्वप विश्वविद्यालय सञ्चालन गर्न लागेको बताए ।
उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत विषयमा उदाहरणीय कार्य गर्दै देशभरका विद्यार्थीहरुलाई कम शूल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको पनि बताए ।

Spread the love